गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुने: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही (कात्तिक) महिनादेखि दुई विदेशी हवाई कम्पनीले उडान सुरु गर्ने भएका छन् ।

कुवेतबाट उडान भर्ने जजीरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (युएई) बाट उडान भर्ने फ्लाई दुबईले गौतमबुद्ध विमानस्थलबाट यही महिनादेखि नियमित उडान गर्ने भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जजीरा एयरलाइन्सले कुवेतबाट सिधा भैरहवा उडान भर्नेछ ।

कुवेतबाट आउने जजीराले १२ कात्तिकदेखि सातामा तीन उडान गर्नेछ । प्राधिकरणले भैरहवामा अवतरण गर्ने वायुयानलाई काठमाडौं विमानस्थलबाट पनि उडान भर्न पाउने सुविधा दिएको छ ।

कुवेतबाट आएको जजीरा मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा अवतरण गर्नेछ ।

भैरहवाबाट साढे ८ बजे कुवेत फर्कने गरी सातामा ३ उडान भर्ने अनुमति पाएको सूचना अधिकारी भूलले बताए ।

यस्तै, अर्को विदेशी कम्पनी फ्लाई दुबईले पनि यही महिनाको २४ गतेबाट दुबई–भैरहवा–काठमाडौं–दुबई उडान भर्ने प्राधिकरणको भनाइ छ ।

सूचना अधिारी भूलका अनुसार दुवईबाट आएको फ्लाई दुबई दिउँसो १:४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेछ ।

त्यसपछि भैरहवाबाट २:४५ मा उडेर काठमाडौं विमानस्थलमा ३:३० मा आएको यो विमान साढे ४ बजे दुबईका लागि उड्नेछ ।

‘यो जहाजले दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा दैनिक एक उडान गर्नेछ,’ भुलले भने, ‘यसरी उडान भर्नका लागि अन्य वायुयान कम्पनीलाई पनि प्राधिकरणले आग्रह गरेको छ ।

अरु कम्पनीहरु छलफलका क्रममा छन् ।’

दुई वायुसेवा कम्पनीले भैरहवाबाट उडान भर्नको लागि सबै आवश्यक तयारी पूरा गरी वायुसेवाले टिकेटिङ समेत गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

उनले भने, ‘अन्य वायुसेवा कम्पनीले पनि चासो देखाएका छन् । अहिले भने जजीरा र फ्लाई दुबईले उडान भर्ने तय भएको छ ।’

सूचना अधिकारी भुलका अनुसार थाई एयर एसियाले १६ असोजबाट काठमाडौंमा नियमित उडान सुरु गरेको छ ।

प्राधिकरणले यो कम्पनीलाई काठमाडौंबाट ४ र भैरहवाबाट ४ गरी सातामा ८ वटा उडान भर्ने अनुमति दिएको छ ।

तर, यो वायुयान कम्पनीले काठमाडौंबाट उडान सुरु गरे पनि भैरहवाबाट गर्न सकेको छैन ।

गएको असोज १७ मा थाई एयर एसियाको टोलीले भैरहवा विमानस्थल अवलोकन गरेको थियो ।

टोलीको रिपोर्टपछि यो कम्पनीले ११ कात्तिकभित्रमा भैरहवा उडान गर्ने तालिका पेश गर्ने भनेको छ ।

तर, हालसम्म उडान अनुमतिका लागि प्रस्ताव नबुझाएको भूलको भनाइ छ ।

उनले भने, ‘थाई एयर एसियाको प्रस्तावको प्रतीक्षामा छौं । प्रस्ताव प्राप्त भएपछि कुन–कुन दिन उडान हुने तय हुनेछ ।’

हिमालय एयरलाईन्सलाई पनि उडान भर्नका लागि ताकेता गर्दै आएको उनले बताए ।

एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेको छ ।

यो वायुसेवाले प्राधिकरणसमक्ष उडान तालिका पेश भने गरिसकेको छैन ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *