लिउगङ ब्रान्डको वितरक ओम्नी मुभर्स प्रालि नियुक्त

विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी चीनको ग्वाङ्सी लिउगङ मेसिनरीद्वारा उत्पादित लिउगङ ब्रान्डका निर्माण उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ ।

यस सहकार्यसँगै ओम्नी मुभर्सले नेपालमा लिउगङका निर्माण उपकरण बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा र स्पेयर पाट्र्ससमेत उपलब्ध गराउनेछ ।

यसबाट निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरका निर्माण उपकरणमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङ निर्माण उपकरण उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी हो ।

कम्पनीले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर तथा मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका उपकरण उत्पादन गर्दै आएको छ ।

लिउगङका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।

ओम्नी मुभर्स प्रालि ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो ।

नेपाली अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको यस ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

यस ग्रुपसँग भारत बेन्ज, चेरी वान्डा, एपोलो टायर र भल्भोलिन लुब्रिकेन्ट्सजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू आबद्ध छन् ।

लिउगङ र ओम्नी मुभर्सबीचको सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै भरपर्दो बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यसबाट नेपाली निर्माण तथा पूर्वाधार क्षेत्रमा संलग्न ग्राहकले दीर्घकालीन लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *