प्रोटोनका विद्युतीय कार जगदम्बा मोटर्सले ल्याउने निश्चित: शंकर समूह पनि विद्युतीय सवारी आयात तथा बिक्रीमा आक्रामक देखिएको छ।
यसअघिसम्म विद्युतीय सवारी बिक्रीमा त्यति धेरै चासो नदेखाएको शंकर समूह अब भने विद्युतीय सवारी आयातमा आक्रामक देखिएको हो।
हाल नेपालका सबैजसो व्यावसायिक घरानाले विद्युतीय सवारी ल्याएर बिक्री गरिरहेका छन्।
सबैजसो घराना विद्युतीय सवारी ब्रान्ड लिन चीन नै पुग्ने गरेका छन्। जगदम्बा मोटर्सले पनि चीनबाट विद्युतीय कार ब्रान्ड ल्याएको हो।
जगदम्बाले यसअघि बिक्री गर्दै आएको मलेसियाली ब्रान्ड प्रोटोनको विद्युतीय कार पनि ल्याउने भएको छ।
प्रोटोन कम्पनीको ४९.९ प्रतिशत हिस्सा चिनियाँ अटोमोबाइल समूह झजियाङ जीली होल्डिङ समूहले किनेको थियो।
चिनियाँ अटोमोबाइल उत्पादकहरू विद्युतीय सवारी उत्पादनमा आक्रामक भएपछि प्रोटोन पनि विद्युतीय कार उत्पादनतर्फ लम्किएको हो।
जीलीले प्रोटोन ब्रान्डमा राइट ह्यान्ड ड्राइभ अप्सनमा विद्युतीय कार सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
प्रोटोन ब्रान्डले मलेसियामा राइट ह्यान्ड ड्राइभ विद्युतीय कार सार्वजनिक गरेलगत्तै कम्पनीले नेपाली बजारलाई पनि उक्त कार दिनेछ।
जगदम्बा मोटर्सले प्रोटोनको विद्युतीय कार ल्याउने आन्तरिक तयारी थालिसकेको छ। कम्पनीले कुन मोडल ल्याउने भन्ने खुलेको छैन।
जगदम्बा मोटर्ससँग हाल प्रोटोन बाहेक दुईपांग्रे सवारी ब्रान्ड टीभीएस रहेको छ।
कम्पनीले टीभीएस ब्रान्डका मोटरसाइकल स्कुटर तथा तीन पांग्रे टेम्पो बिक्री गर्दै आएको छ।
जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गरेर बिक्री गर्दै आएको छ।
त्यस्तै कम्पनीले युएईको एडनक ब्रान्डको लुब्रिकेन्ट पनि बिक्री गरिरहेको छ।
शंकर समूहको पोर्टफोलियोमा अन्य अटोमोबाइल ब्रान्ड भने छैन।
सोही कारण अब विभिन्न विद्युतीय ब्रान्ड भित्र्याउन समूहअन्तर्गतको जगदम्बा मोटर्स लागि परेको हो।
Visit homepage : eautonepal.com