ठेक्का सम्झौताको म्याद र थप भएको झण्डै आठ महिनाको म्याद पनि गुज्रेपछि मंसिरमा सुरु भएको काम फेरि पनि रोकिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताए ।
कामै नगरेर सडक अलपत्र पारेपछि सबै पक्षसँग धेरै लामो छलफल भएर काम सुरु नगरे ठेक्का तोड्ने भनेर गत मंसिर २१ गतेसम्मको अल्टिमेटम दिएको र २२ गतेदेखि निर्माणको काम सुरु भएको बताउँदै अध्यक्ष पोख्रेलले फेरि सडक अलपत्र पारेको बताए ।
‘४/५ किलोमिटर पिच गर्यो अहिले सडक फेरि अलपत्र छ,’ अध्यक्ष पोख्रेलले भने, ‘आयोजना कार्यालयले कोसिस गरिरहेका छौं । ठेकेदारलाई फकाइरहेका छौं भन्छन् ।
यहाँ ठेकेदारको जिम्मा लिएका मान्छेसँग कुरा हुँदा मैले हात उठाएँ भन्दै थिए ।’
सडककै कारण जनताले वर्षौंदेखि सास्ती खेपेको उनले बताए ।
समयमै ठेकेदारले काम नगरे ठेक्का तोड्नु पर्ने उनी बताउँछन् ।
‘जनताले धेरै सास्ती पाएका छन् । छिटोभन्दा छिटो काम हुनुपर्छ ।
यदि यो ठेकेदारले समयमै काम गर्दैन भने समयमै ठेक्का तोडेर अर्को ठेक्का लगाउनुपर्छ,’ उनले भने, ‘हामीले पहिलेदेखि नै काम नगर्नेको ठेक्का तोड्नुपर्छ भनेका हौं ।
अहिले पिचको काम बन्द भएको छ, साना काम फाटुफुट गरे जस्तो देखिन्छ ।