हुलाकी राजमार्ग फेरि अलपत्र

दाङको कालाकाटे–गढवा सडक पछिल्लो समयमा आएर फेरि अलपत्र परेको छ ।

ठेक्का सम्झौताको साढे चार वर्ष पुग्दासमेत सडकको पिच पूरा भएको छैन ।

६५ करोड लागतमा २०७६ कात्तिक २९ मा वज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो ।

तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम गत मंसिर २२ गतेदेखि काम सुरु भएको थियो ।

मंसिर २२ गते पिचको काम सुरु गर्दासम्म जम्मा डेढ किलोमिटरमात्रै सडक कालोपत्रे भएको थियो ।

कालाकाटेदेखि–गढवा सडक खण्डको वनघुस्रीदेखि गढवासम्मको २० किमि सडकको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर श्रवणकुमार महतराले जानकारी दिए ।

उनले निर्माण व्यवसायीले साइट नै छाडेर गएको अवस्था भने नरहेको बताउँदै साइटमा पिचको काम भने रोकिएको बताए । ‘सबै इक्विप्मेन्ट साइटमै छन् ।

अहिले कागजी प्रक्रियाको काममा भएर होला दुई/चार दिनमा पुनः पिचको काम सुरु हुन्छ,’ उनले भने ।

२०७९ मै म्याद सकिएकोमा कोभिडको समयमा ठेक्का लागेको र लकडाउनको कारण काम नभएकोले म्याद थप गरिएको ठेक्कामा अहिले थप भएको म्याद पनि सकिएको छ ।

निर्माण व्यवसायीले नियमित काम गरेमा ३/४ महिनामा पिचको काम सकिने अवस्था रहेको त्यतिबेला हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर श्रवणकुमार महतराले बताए ।

उनका अनुसार अहिले सडक सबै कालोपत्रे भइसक्ने बेला हो तर आधा सडकमा पनि कालोपत्रे भएको छैन ।

२०७६ मंसिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ठेक्का हात पारेको गढवादेखि राजुपरको गंगदी पारिसम्मको अर्को २० किमिको प्रगति भने सन्तोषजनक रहेको देखिएको छ ।

उक्त सडकको पिच सकिएको छ । एक पटक म्याद थपेर २०८० साउन १० सम्म पुर्‍याइएको उक्त सडकमा बाँकी रहेको फुटपाथ र अन्य काम सकिने अवस्थामा रहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताए ।

हुलाकी सडकअन्तर्गत बन्दै गरेको कालाकाटेदेखि राजपुरसम्म सात मिटर पिच र २/२ मिटर पेटी रहने ठेक्का सम्झौता छ ।

सहरी क्षेत्र, बस्ती र बजारमा पाँच किलोमिटर पक्की नाला बनाउने सम्झौता छ ।

अहिले गढवादेखि राजपुरसम्मको काम सन्तोषजनक भए पनि कालाकाटे गढवाको काम भने सुस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *