नेपाल अटोमेकानिक्स व्यवसायी संघको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले अटोमेकानिक्स व्यवसायलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण प्रसाद लम्सालले बागमती प्रदेशमा अटो भिलेज बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रक्रिया सुरु भइसकेको र जग्गा प्राप्तीका लागि पहल भइरहेको पनि उनले बताए ।
स्थानीय तहसँग समन्वय गरेर अटो भिलेज निर्माण गरिने उनको भनाइ छ ।
व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ । व्यवसायीहरुसँग समन्वय गरी सरकार अगाडि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष उमेश सिंहले सबैले आफ्नो पेशालाई सम्मान गर्नुपर्ने धारणा राखे ।
समय अनुसार क्षमता अभिवृद्धि गर्दै व्यवसायीहरु अगाडि बढ्नुपर्ने बताए । राज्यले व्यवसायीलाई संरक्षण गर्ने काम नगरेको बताउँदै व्यवसायी आफै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले नेपालको अटोमोबाइल क्षेत्रमा अटोमेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
नेपाल उद्योग परिसंघका उद्योग सभापति लक्ष्मीप्रसाद सुवेदीले राज्यले उद्योगी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल अटोमेकानिक्स व्यवसायी संघका संरक्षक महेश बज्राचार्य, नेपाल घरेलु साना उद्योग महासंघ बस्तुगत उपाध्यक्ष मोहन कटुवाल, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, नेपाल अटोमेकानिक्स व्यवसायी संघका निबर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
व्यवसायलाई व्यवस्थित गर्न अटोभिलेज तथा अटो ल्याण्ड आवश्यक रहेको बताएका छन् ।
अटोभिलेज नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा रहेको बताउँदै उनीहरुले चिन्ता व्यक्त गरे । संघका अध्यक्ष दीपेन्द्र बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सो अवसरमा विद्यार्थी सम्मान, ज्येष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम पनि समावेश गरिएको संघका महासचिव सुमनप्रसाद सुवेदीले जानकारी दिए ।