चन्द्रागिरि-चित्लाङ सडक : सरकारले थापेको धराप

गत शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा एउटा जिप दुर्घटनामा पर्‍यो ।

काठमाडौंबाट मकवानपुर चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो ।

कारबाट ओर्लेकी स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।

यो घटना जति दर्दनाक छ, काठमाडौंको चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग त्यति नै डरलाग्दो छ ।

थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरी पहाडसम्म उकालो छ, त्यसपछि ओरालो झरेर मकवानपुरको चित्लाङ पुग्छ ।

यो सडकको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरि डाँडासम्म छ । त्यसपछि तुलनात्मक रुपमा सजिलो छ ।

‘बाटो त धेरै डरलाग्दो र अत्यासलाग्दो छ, तर सधैं हिँड्नुपर्छ’, यही सडकमा ट्रक चलाएर काठमाडौंबाट चित्लाङ जाँदै गरेका सरोज तामाङ भन्छन्, ‘प्रत्येकचोटि चन्द्रागिरि डाँडामा पुगेपछि भगवानलाई धन्यवाद भनेर हिँड्ने गर्छु ।’

तामाङ यही सडकमा तीन वर्षदेखि गाडी चलाइरहेका छन् । ‘ढुङ्गामाथि उफ्रिँदै आउनुपर्छ, यो सरकारले नहेरेर त यस्तो भएको हो’, आक्रोशित हुँदै तामाङ भन्छन्, ‘यही बाटोमा खलासी भएर ड्राइभर भइसकेँ, अहिलेसम्म बाटो सुधार भएन ।’

सडकका कारण सवारीसाधन टुटफुट हुनु सामान्य भइसकेको छ । गाडीको टायर टिक्दै नटिक्ने अर्को समस्या उनले सुनाए ।

सडक पहिले भन्दा केही फराकिलो बनाइएको छ, तर कच्ची अवस्थाका कारण हिउँदमा धुलैधुलो र वर्षामा हिलाम्य हुने हुनाले गाडी चलाउन कठिन छ ।

मकवानपुर थाहा नगरपालिकाका श्यामबहादुर ब्लोन काठमाडौंबाट मोटरसाइकल लिएर घरतिर जाँदै गरेको भेटिए ।

‘काठमाडौंबाट आउँदा यस्तो डरलाग्दो उकालो छ, यहाँ आएर एकछिन आराम गरेर मात्रै यात्रा गर्न सकिन्छ’, चन्द्रागिरि डाँडामा भेटिएका उनले भने, ‘खुकुरीको धारमा पैताला राखेर हिँडेको जसरी हिँड्नुपर्ने अवस्था छ । खै, कसलाई के भन्ने ? भनेर पनि सुन्ने भए पो !’

उनका अनुसार नागढुंगाबाट नौबिसे हुँदै बाइरोडको बाटो (त्रिभुवन राजपथ) जाँदा उनको घर पुग्न ३ घण्टा लाग्छ ।

चन्द्रागिरिबाट चित्लाङ हुँदै जाँदा दुई घण्टामा पुगिन्छ, तर सानो एउटा ढुङ्गामा अल्झिएर पनि मोटरसाइकल पल्टिने जोखिम हुन्छ ।

चित्लाङबाट गाडी चलाएर चन्द्रागिरि आइपुगेका काठमाडौं गुर्जुधाराका ट्याक्सी चालक सुमन लामाले चार–पाँच ठाउँमा धुलो माटो धेरै भएर टायर घुमेको घुम्यै हुने र गाडी अगाडि नबढ्ने बताए ।

‘तलैबाट पिकअप लिएर हुत्तिँदा दुर्घटना होला भन्ने डर हुन्छ । उकालो ठाडो छ, अनि फेरि त्यही ठाउँमा खाल्डाखुल्डी भएपछि त धेरै गाह्रो हुने नै भयो नि !,’ लामा भन्छन्, ‘झन् होचो गाडीको टुटफुट धेरै हुन्छ । धुलो उड्दा पनि गाह्रो हुन्छ । थोरै पानी परे पनि गाडी आउँदैन, विजोग नै छ ।’

सडकको अवस्था धेरै जोखिमपूर्ण भए पनि छोटो दूरी हुने भएकाले काठमाडौंबाट मकवानपुरको हेटौंडा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्ला जाने जिपहरु यही सडकबाट चल्छन् ।

वीरगञ्ज–काठमाडौंका सुमो चालक रामेश्वर पासवानले सडकमा धेरै खाल्डो र धुलो हुँदा यात्रा जोखिमपूर्ण रहेको बताए ।

‘बिग्रेको बाटोमा यात्रुलाई पनि डर लाग्छ, कतिपय ठाउँमा यात्रुलाई ओराल्दै गाडी लैजानुपर्छ’, पासवान भन्छन् ।

यही सडकमा दुई वर्षदेखि गाडी चलाइरहेका चालक बद्री कार्की अहिलेसम्म यो सडकमा सहज अनुभव गर्न नपाएको बताउँछन् ।

स्कुटर चालक दिवस खत्री यसलाई सडक नभएर नक्सामात्र भएको टिप्पणी गर्छन् ।

‘म स्कुटर लिएर हिँड्न थालेदेखि यस्तै छ, उकालोमा ढुंगा, धुलो देख्दा अब के भन्ने ?’, उनले भने, ‘खै, बजेट नै छैन भन्छन् ।

थानकोटबाट चन्द्रागिरि डाँडासम्म आइपुग्दा ज्यान र हातखुट्टा थिलथिलो हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *