सवारी दुर्घटनाको त्रासदी : दुई दिनमा ६ दुर्घटना, २२ को मृत्यु

सडक दुर्घटनाको त्रासदी हाम्रो दैनिकी र नियति बनेको छ । शुक्रबार र शनिबार मात्रै देशका विभिन्न स्थानमा भएका दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ वटा दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका– १ पुल्चोकस्थित राप्ती नदीको पक्की पुलमा नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार १२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका– १ पुल्चोकमा ट्राफिक प्रहरीको ‘चेक प्वाइन्ट’ छ ।

चेक प्वाइन्टमा हुने इन्ट्रीलाई छलेर तीव्र गतिमा पुल पार गर्न खोज्दा शुक्रबार राति साढे १० बजे यात्रुबाहक बस दुर्घटनामा पर्‍यो ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे.१ख ३९१२ नम्बरको रात्रिबस राप्ती पुलबाट राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा २४ जना घाइते भएकामा तीनजना डिस्चार्ज भइसकेका छन् । आठजनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सातजनाको घटनास्थलमै र पाँचजनाको उद्धारपछि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

गाडी आधा पानीमा र आधा बाहिर थियो । त्यसैले पछिल्ला सातजनाको शव निकाल्न करिब डेढ घन्टा ढिला भएको थियो । जेसिबी ल्याएर गाडी निकालेपछि मात्रै शव निकालिएको थियो ।

‘इन्ट्री नगरेर तीव्र गतिमा गाडी जाँदा अनियन्त्रित भएर दुर्घटना भएको निष्कर्ष निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले भने, ‘चालकले सपट बिग्रिएर दुर्घटना भएको बयान दिए पनि हामीलाई त्यस्तो लाग्दैन ।

नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्र गति लिएकाले दुर्घटना भएको निष्कर्ष छ ।’ चालक लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेका चारजना र भारतका तीनजना छन् । त्यसैगरी, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका– ३ का सञ्जय केसी, नेपालगन्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, कोहलपुर– ८ का २८ का अर्पण थापाका रहेका छन् ।

त्यस्तै, रुकुम गोतमकोट गाउँपालिका– ९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुरका ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत छन् ।

यसैगरी, भारत बिहारका ६७ वर्षीय जोगेन्द्र राम, बहराइज नानपारा बग्लु, भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *