पार्किङस्थल नबनाउन सम्पदाकर्मीहरु आन्दोलित

अकुपाई टुँडिखेल अभियानले खुलामञ्चलाई पार्किङस्थल नबनाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।

ऐतिहासिक स्थल तथा विपद्का बेला नागरिकहरुको आश्रयस्थल खुलामञ्च बचाउनुपर्ने माग गर्दै सम्पदाकर्मीहरुले महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका हुन्।

खुलामञ्चलाई अन्डरग्राउन्ड पार्किङ बनाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सम्पदाकर्मीहरु आन्दोलित छन्।

प्राचीन हिटि प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिस्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने भएकाले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ्गको सोच नै ग़लत भएको उनीहरुको बुझाइ छ। ज्ञापनपत्रमा सार्वजनिक स्थल दोहोन गरी ठेक्का नदिन आग्रह गरिएको छ।

अकुपाई टुँडिखेल अभियान खबरदारी गर्न महानगरको कार्यालय पुगेको हो। यो अभियानले यसअघि पनि खुलामञ्च मास्नु हुँदैन भनेर महानगरको ध्यानाकर्षण गराएको थियो।

तर,पटकपटक खबरदारी गर्दा पनि महानगरले अटेरी गरेको भन्दै अकुपाई टुँडिखेल फेरि दबाब दिन महानगर पुगेको हो।

कार्त्तिक २९ गते बसेको महानगरको कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो।  अव्यवस्थित पार्किङलाई व्यवस्‍थापन गर्नका लागि खुलामञ्चमा पार्किङ निर्माण गर्न डीपीआर बनाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *