६४१ हर्सपावरको हाइब्रिड इन्जिनसहित टोयोटाको नयाँ सुपरकार जीआर जीटी सार्वजनिक

काठमाडौं । टोयोटाले आफ्नो स्पोर्ट्स कार लाइनअपमा नयाँ फ्ल्यागसिप मोडल थपेको छ। कम्पनीले गाजु रेसिङ (जीआर) ब्रान्डअन्तर्गत विकास गरेको नयाँ सुपरकार ‘जीआर जीटी’ सार्वजनिक गरेको हो। ट्विन टर्बोचार्ज्ड भी८ इन्जिन र हाइब्रिड प्रविधिको संयोजन रहेको यो कार उच्च प्रदर्शनलाई लक्षित गरेर तयार पारिएको छ।

नयाँ सुपरकारसँगै टोयोटाले यसको ट्र्याक रेसिङ संस्करण जीआर जीटी३ को प्रोटोटाइप पनि प्रदर्शन गरेको छ। यी दुई मोडलको उद्देश्य भने फरक छ। जीआर जीटीलाई सार्वजनिक सडकमा चलाउन मिल्ने स्पोर्ट्स कारका रूपमा विकास गरिएको हो भने जीआर जीटी३ अन्तर्राष्ट्रिय जीटी३ रेसिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उद्देश्यले तयार पारिँदैछ।

दुवै कार टोयोटाको नयाँ अल्मुनियम प्लेटफर्ममा आधारित छन्। यही प्लेटफर्मलाई कम्पनीले आफ्नो आगामी पुस्ताको लेक्सस एलएफए विकासमा समेत प्रयोग गरिरहेको छ।

जीआर जीटीको मुख्य आकर्षण यसको ४.० लिटर क्षमताको ट्विन टर्बोचार्ज्ड भी८ पेट्रोल इन्जिन हो। यसले ६४१ हर्सपावर शक्ति उत्पादन गर्छ। दुईवटा टर्बोचार्जरको सहायताले इन्जिनले उच्च शक्ति प्रदान गर्ने कम्पनीको योजना छ।

इन्जिनको कार्यक्षमता र कारको सन्तुलन सुधार गर्न टोयोटाले यसमा ड्राइ सम्प प्रविधि अपनाएको छ। यो प्रणालीले इन्जिनको लुब्रिकेसन व्यवस्थापन गर्ने तरिकालाई परिवर्तन गर्छ। यसका कारण इन्जिनलाई चेसिसमा तुलनात्मक रूपमा तल राख्न सम्भव हुन्छ। इन्जिनको स्थान तल हुँदा कारको गुरुत्वकेन्द्र कम हुन्छ, जसले तीव्र गतिमा मोड काट्दा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ।

जीआर जीटीलाई हाइब्रिड प्रणालीमार्फत थप शक्तिशाली बनाइएको छ। भी८ पेट्रोल इन्जिनसँगै यसमा विद्युतीय मोटर पनि समावेश गरिएको छ। दुवै शक्तिस्रोतलाई आठ स्पिडको अटोमेटिक ट्रान्सएक्सल गियरबक्समार्फत एकीकृत गरिएको छ।

गियरबक्सकै क्षेत्रमा विद्युतीय मोटर जडान गरिएको यो संरचनाले पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको शक्ति संयुक्त रूपमा पाङ्ग्रासम्म पुर्‍याउने काम गर्छ। यसबाट कारको समग्र प्रदर्शन र पावर डेलिभरीमा सुधार हुने अपेक्षा गरिएको छ।

जीआर जीटी र जीआर जीटी३ मार्फत टोयोटाले सडकमा चल्ने उच्च प्रदर्शनका कार र अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स दुवै क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *