काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो विद्युतीय सवारी ब्रान्ड ओरा अन्तर्गत नयाँ मोडल बजारमा उतारेको छ। कम्पनीले चीनमा मिडसाइज सेडान ओरा ७ लाई दुई फरक बडी डिजाइनमा सार्वजनिक गरेको हो। यो कार कुपे र वागन (ट्राभल एडिसन) गरी दुई संस्करणमा उपलब्ध हुनेछ।
कम्पनीले ओरा ७ लाई पाँच भेरियन्टमा बजारमा ल्याएको छ। यसको सुरुवाती मूल्य १ लाख १९ हजार ८०० युआन राखिएको छ भने सबैभन्दा महँगो भेरियन्टको मूल्य १ लाख ६९ हजार ८०० युआन तोकिएको छ। अमेरिकी डलरमा यसको मूल्य करिब १७ हजार ९०० देखि २५ हजार ३०० सम्म पर्छ।
डिजाइनका हिसाबले ओरा ७ मा क्लोज्ड फ्रन्ट ग्रिल र गोलाकार हेडलाइट प्रयोग गरिएको छ। कारको भित्री भागमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ। यात्रुको सुविधाका लागि सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र दुईवटा कप होल्डरसमेत उपलब्ध छन्
ब्याट्रीका लागि ग्राहकले ५८.३ किलोवाट आवर र ६८.९ किलोवाट आवरका दुई विकल्प पाउनेछन्। कम्पनीका अनुसार सीएलटीसी परीक्षणमा यसको रेन्ज ५३५, ५६० र ६३० किलोमिटरसम्म प्रमाणित भएको छ। यसले लामो दूरीको यात्रालाई लक्षित गरी फरक रेन्ज विकल्प उपलब्ध गराएको देखिन्छ।
ओरा ७ को अर्को विशेषता यसको एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम (एडास) हो। सुरक्षित ड्राइभिङका लागि यसमा १९२ लाइनको लिडार सेन्सर, तीनवटा मिलिमिटर वेभ राडार, ११ वटा हाई डेफिनिसन क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार जडान गरिएको छ।
यसमा प्रयोग गरिएको लिडार प्रविधिले वरपरको वातावरण पहिचान गर्न र चालक सहायता प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्छ।
नयाँ ओरा ७ लाई जीडब्लूएमले यसअघि बजारमा ल्याएको ओरा लाइटनिङ क्याटको नयाँ पुस्ताका रूपमा पनि हेरिएको छ।
जीडब्लूएमका विद्युतीय सवारीसाधन नेपाली बजारमा समेत उपलब्ध छन्। नेपालमा हाल ओरा ५ र हाभल जोलियन ईभी बिक्री भइरहेका छन्। यस्तो अवस्थामा नयाँ ओरा ७ पनि भविष्यमा नेपाली बजारमा आउन सक्ने सम्भावना देखिन्छ। यद्यपि, यसको नेपाल आगमनबारे आधिकारिक घोषणा भएको छैन।