सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक यात्रा’शीर्षकमा कार्टुन चित्र प्रदर्शनी गरिएको छ ।
संयुक्त राष्ट्रसंघबाट आह्वान सडक सुरक्षा सप्ताह ९ मे १५–२१, २०२३० को सन्दर्भ पारेर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्टुन प्रदर्शनीको भौतिक योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार उद्घाटन गरेका हुन् ।
सडक सुरक्षालाई ध्यान दिइ व्यंग्यचित्रमार्फत् जनचेतना जगाउने उद्देश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनी कार्टुनिस्ट क्लब अफ नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद्, नेपाल प्रहरी, सडक सुरक्षा समाज तथा रोटरी क्लब इन्टरनेसनलको पहलमा गरिएको हो ।
नेपालका २६ जना कार्टुनिस्टका कार्टुन राखिएको प्रदर्शनीमा सडक दुर्घटनासँगै सर्तकता अपनाउन सजग हुनुपर्ने विषयलाई उठान गरिएको छ ।
सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिवर्ष १३ लाख ५० हजार रहेको तथ्यांक छ ।
यस्तै, नेपालमा २८ सय मानिसले हरेक वर्ष सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।
सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माले सडक दुर्घटना न्यूनीकरणका विभिन्न उपायमध्ये जनचेतना जगाउन कार्टुनको प्रयोग सशक्त हुनसक्ने बताए ।
कार्यक्रममा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले बोल्ड स्ट्रोकहरू, जीवन्त रङ र हास्य स्पर्शका साथ हाम्रा कलाकारले अहिलेको द्रूतगतिको संसारमा पैदलयात्री, साइकलयात्री, सवारी चालक र यात्रुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेको सुनाए ।
उनले भने,‘कलाकारले कलामार्फत् सामाजिक जागरण ल्याउन सन्देशमूलक चित्र बनाएका हुन् । यसले सामाजिक सचेतना जगाउन विशिष्ट भूमिका खेल्न सक्छ ।’
अग्रज व्यंग्यचित्रकार अविन श्रेष्ठले सामाजिक जागरणसँगै शिक्षामूलक रुपमा कार्टुन प्रदर्शनीमा राखिएको बताए ।