मेलम्चीको पाइप फुटेको र लामो समयदेखि भैँसेपाटी सडक अस्तव्यस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन्।
अस्तव्यस्त सडक मर्मत गर्न र फुटेको पाइप व्यवस्थापन गर्न माग गर्दै स्थानीयले सोमबार सडक अवरुद्ध गर्दै विरोध जनाएका हुन्।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत विस्तार हुँदै गरेको भैँसेपाटी सडक अझै बन्न सकेको छैन।
आयोजनाले केही क्षेत्रमा मात्रै कालोपत्रे र मर्मत सम्भार गरे पनि सहरी क्षेत्रमा सडक अस्तव्यस्त छ। त्यसमाथि सोमबार मेलम्चीको पाइप समेत फुटेको छ।
हाल मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा लागिरहेको निर्देशनालय पिआइडीले यस क्षेत्रमा खानेपानी पाइप बिछ्याउने कार्य गरिरहेको छ।
यसका कारण सडक अस्तव्यस्त बनेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख कृष्ण ओझाले बताए। उनले भैँसेपाटीको सडक केही दिनमै कालोपत्रे हुने नयाँ पत्रिकामा बताए।