भारतमा एउटा पर्यटक डुंगा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।
डुबेको डुंगाको खोजी सोमबारसम्म जारी राखिएको थियो । एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ ।
६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।
पति र छोरीसँगै डुंगामा रहेकी रजिसाले डुंगामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुंगाबाट धुवाँ निस्केको बताइन ।
डुंगामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भनिन्, ‘हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौँ ।’
उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुंगाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताइन् ।