काठमाडौंका यातायातका लागि नयाँ गुरुयोजना स्वीकृत हुने अपेक्षा

काठमाडौं उपत्यकाको सडक पूर्वाधार र सहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक बृहत् गुरुयोजना तयार गरिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा मेट्रो रेल, द्रुत बस सेवा, सुरुङमार्ग, चोक सुधार र आपत्कालीन सडक सञ्जालजस्ता २२ पूर्वाधार र १३ यातायात सुधार कार्यक्रम प्रस्ताव छन् ।

गुरुयोजनाले सन् २०५० सम्मको जनसंख्या वृद्धि र ट्राफिक चापलाई ध्यानमा राख्दै सार्वजनिक यातायात प्रवर्द्धन, मास ट्रान्जिट, कार फ्री जोन, युटिलिटी करिडोर र सडक विस्तारका विविध योजना अघि सारेको छ।

मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि कार्यान्वयनमा जाने अपेक्षा गरिएको यो योजनामा फास्ट ट्र्याक निर्माणमा नेपाली सेना र अन्य निकायबीच समन्वय अभाव देखिएको छ भने विस्तृत सम्भाव्यता अध्ययन र डिजाइनको काम अझै बाँकी छ।

 

यसअघि सन् १९९३, २०१२ र २०१७ मा पनि यस्ता अध्ययन भएका थिए । विगतका योजना स्वीकृत हुन नसके पनि यस पटक मन्त्रिपरिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ । गुरुयोजनाले सन् २०५० सम्मको उपत्यकाको यातायात अवस्थालाई मार्गनिर्देशन गर्ने लक्ष्य राखेको छ ।

२४ वर्षपछि काठमाडौं उपत्यकाको जनसंख्या ४३ लाख पुग्ने अनुमानसहित नयाँ सहर विकास योजना, यातायात चाप पूर्वानुमान, सवारीसाधनको माध्यम परिवर्तन, मास ट्रान्जिट करिडोर, सुरुङमार्ग, चोक सुधार र बस सञ्चालन सुधारका आयोजना प्रस्ताव गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *