काठमाडौं । निसानको नयाँ एसयूभी टेकटन भारतभर आधिकारिक रूपमा ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गर्न थालिएको छ। भारतमा डेलिभरी सुरु भएसँगै यो एसयूभी अब नेपाली बजारमा पनि प्रवेश गर्ने तयारीमा रहेको छ।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले टेकटन आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले टेकटनलाई भिसिया, एसेन्टा, एन–कनेक्टा, टेकना र टेकना+ गरी पाँच भेरियन्टमा उपलब्ध गराएको छ। आधुनिक डिजाइन र प्रिमियम केबिनसहित आएको यस एसयूभीमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ।
यस्तै, प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, पावर टेलगेट तथा सिक्स–वे एड्जस्टेबल भेन्टिलेटेड फ्रन्ट सिट जस्ता सुविधा पनि यसमा उपलब्ध छन्, जसले चालक र यात्रुको आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
पावरट्रेनतर्फ टेकटनमा १.० लिटर थ्री–सिलिन्डर टर्बो पेट्रोल र १.३ लिटर फोर–सिलिन्डर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा हुने औपचारिक लन्चपछि नेपाली ग्राहकले टेकटनलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै बुकिङ पनि गर्न सक्नेछन्।
नेपाली बजारमा बिक्री सुरु भएपछि निसान टेकटनले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।