काठमाडौं । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा अनियन्त्रित भई पल्टिएपछि दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका आठ जनाको सुर्खेतस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ भने पाँच जनाको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले दुर्घटनाग्रस्त जिपलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।