काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडक खण्डमा खसेको सुक्खा पहिरो हटाइएपछि झण्डै साढे चार घण्टापछि दुवैतर्फबाट सवारी साधन सञ्चालनमा आएका छन्।
मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक अन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प हुँदा सयौँ सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका अनुसार अवरुद्ध सडक खुलाउन तीन वटा स्काभेटर तथा डोजर परिचालन गरिएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडक दुवैतर्फबाट सञ्चालनमा ल्याइएको हो।
यद्यपि वर्षायामका कारण उक्त सडक खण्डमा पहिरोको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।