महिन्द्राले बेच्यो एक महिनामै ६० हजार एसयूभी

भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले पछिल्लो एक महिनामै ६० हजार युनिट बढी एसयूभी बिक्री गरेको बताएको छ ।

सन् २०२६ जुन महिनामा कम्पनीले भारतीय बजारमा ६० हजार ३९३ युनिट एसयूभी बिक्री गरेको हो । यो गएको वर्षको सोही अवधिको तुलनामा २७.६६ प्रतिशत धेरै हो । महिन्द्राले सन् २०२५ जुनमा घरेलु बजारमा ४७ हजार ३०६ युनिट कार बेचेको थियो ।

कम्पनीले जुनमा कुल ५ हजार ९१८ युनिट सवारी साधन निर्यात गरेको छ । कम्पनीको निर्यात गत वर्षको सोही अवधिको तरलनामा १२५ प्रतिशतले बढेको छ । कम्पनीले २०२६ जुनमा कमर्शियल, प्यासेन्जर र थ्रीह्वीलर गरी कुल १ लाख ६ हजार २०७ युनिट सवारी साधन बिक्री गरेको जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशत धेरै हो । कम्पनीले जुनमा कुल २६ हजार ७६ युनिट कमर्शियल सवारी बिक्री गरेको छ । त्यस्तै, जुनमा १३ हजार ८२० युनिट थ्री ह्वीलर बिक्री गरेको छ ।

महिन्द्राका स्कर्पियो, बोलेरो, एसयूभी थ्रीएक्सओ, एक्सयूभी सेभेन एक्सओ जस्ता चर्चित माडेल छन् । त्यसमा पनि पछिल्लो समय बजारमा आएको एक्सयूभी सेभेन एक्सओले ग्राहक आकर्षित गरेको छ । त्यस्तै, विद्युतीतर्फ महिन्द्रा एक्सईभी ९ ई, बीई सिक्स, एक्सईभी नाइन एसले उत्कृष्ट बजार पाइरहेका छन् ।

नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट एक्सईभी ९ ई र बीई सिक्स ईभी पनि बेचिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *