काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ९ः३० बजे भित्री सडकबाट राजमार्ग पार गर्ने क्रममा प्र.३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका–१ की २४ वर्षीया मिनकुमारी श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः४८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी हाल पाँचखालस्थित एक माइक्रोफाइनान्स संस्थामा कार्यरत थिइन्।
दुर्घटनामा ईभीमा सवार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का ६५ वर्षीय गोपाल भुजेल पनि घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ का ४३ वर्षीय कर्णबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।