काठमाडौं। अविरल वर्षाका कारण मकवानपुरस्थित कान्ति लोकपथका दुई स्थानमा पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द भएपछि काठमाडौँ र हेटौँडाबीच सञ्चालनमा रहेका सवारी साधनहरू विभिन्न स्थानमा रोकिएका छन्।
प्रहरीका अनुसार बकैया गाउँपालिका–१२ को ठिंगन क्षेत्रमा सोमबार मध्यरातपछि करिब १२ः३० बजे माथिबाट ढुङ्गासहितको पहिरो झरेर सडक पुरिएको थियो। त्यसपछि बिहानैदेखि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा सडक खुलाउने प्रयास सुरु गरिएको थियो।
ठिंगनमा पहिरो हटाउने काम जारी रहेकै बेला भीमफेदी गाउँपालिका–८ को भर्याङ डाँडामा फेरि अर्को ठूलो पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार दोस्रो पहिरो लेदो र माटोसहित ठूलो परिमाणमा खसेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव छैन। लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काम प्रभावित भएको र सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।
प्रहरीले यात्रु तथा सवारी चालकलाई कान्ति लोकपथ प्रयोग नगरी हालका लागि त्रिभुवन राजपथ वा विपी राजमार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ। सडक सञ्चालनबारे थप जानकारी सम्बन्धित निकायले उपलब्ध गराउने जनाएको छ।