ईभी मोटर क्षमतामा नाइमाको ध्यानाकर्षण

नेपालमा विद्युतीय सवारी साधन (EV) को मोटर क्षमतालाई लिएर भइरहेका विभिन्न टिप्पणी र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाइमाका अनुसार नेपालमा आयात हुने ईभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण र परीक्षण प्रतिवेदनका आधारमा आउने गर्छन्।

केवल वेबसाइटमा देखिने विवरण वा मोडलको नामकै भरमा मोटर क्षमताको निष्कर्ष निकाल्नु प्राविधिक रूपमा गलत हुने संस्थाको भनाइ छ।

हाल नेपालमा ईभीको मोटर क्षमता मापन र प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड र परीक्षण प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आइनसकेकाले बजारमा भ्रम र अन्योल बढेको नाइमाले उल्लेख गरेको छ।

स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाउन र वातावरण जोगाउन ईभी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकाले यससँग जोडिएका विषयहरूलाई तथ्य र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्र मूल्याङ्कन गर्न नाइमाले सरकारसँग माग गरेको छ।

अपुष्ट सूचनाले उपभोक्ताको विश्वास र लगानीको वातावरणमा असर गर्ने भन्दै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *