Skip to content
काठमाडौँ। महानगर यातायात प्रा.लि. ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ।
कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन र भैरहवासम्म २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरु गरिएको जानकारी दिएको हो।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य सहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए।
उनले छिट्टै काठमाडौँलाई अन्य प्रमुख सहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको पनि उनले उल्लेख गरे।
दश वर्षदेखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो।
कम्पनीका बसहरू हाल काठमाडौँको चक्रपथ क्षेत्र तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन्।
Post Views: 162