Skip to content
स्याङ्जाको वालिङ नगरपालिका–१ मा पर्ने अर्मादीखोलामा पक्की पुल निर्माण सुरु गरिएको छ।
वालिङ नगरपालिकाले आँधीखोला करिडोर परियोजनाअन्तर्गत बौवा क्षेत्रमा पुल बनाउन थालेको हो।
पुल निर्माणपछि आँधीखोला करिडोरलाई सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ।
यसले वालिङ बजार र सरसफाइ केन्द्रबीचको आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार पुल बनेपछि बजारबाट सङ्कलन हुने फोहोरमैला सरसफाइ केन्द्रसम्म लैजान सजिलो हुनेछ।
साथै सर्वसाधारणको यात्रा समय र खर्च दुवै घट्ने विश्वास गरिएको छ।
पुल निर्माणका लागि डीएसएमवाई जेभीसँग ३ करोड ३७ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ।
एक स्पानको यस पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ ८.४ मिटर हुनेछ। हाल फाउन्डेसन निर्माणको काम सुरु भइसकेको छ।
अहिले वर्षायाममा खोलामा सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेकाले किसान र स्थानीयवासी प्रभावित हुँदै आएका छन्।
पुल निर्माणपछि खेतीपाती, ढुवानी तथा दैनिक आवतजावत सहज हुने नगरपालिकाले जनाएको छ।
आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्ने तयारी भइरहेको छ।
आँधीखोला करिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग र वालिङ बजार क्षेत्रको सवारी चाप कम हुने अपेक्षा गरिएको छ।
Post Views: 137