नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ।
निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले करिब एक महिनाअघि काम सुरु गरेको हो।
कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल निर्माण कार्य **‘टेस्टिङ फेज’**मा छ।
प्रारम्भिक डिजाइन बनाउँदा गरिएका प्रयोग र त्यसबाट आएको नतिजाका आधारमा पुलका संरचनात्मक पक्षहरू फिल्डमै परीक्षण भइरहेको छ।
डिजाइनमा तय गरिएको भार पुलले वास्तविक अवस्थामा पनि सहन सक्छ कि सक्दैन भन्ने जाँच अहिले भइरहेको उनले बताए।
परीक्षणका लागि नेपालमै पहिलोपटक प्रयोग हुन लागेको ‘ओसेल’ प्रविधि अपनाइँदैछ। यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखेर कङ्क्रिटिङ गरिन्छ।
यो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको छ र उपकरण आइपुगेपछि काम थप तीव्र हुने बताइएको छ। ओसेल प्रविधिबाट पाइलले कति भार सहन सक्छ भन्ने यथार्थ क्षमता मापन गरिन्छ।
४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ। कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब र प्रतिक्रिया मापन गरी पाइलको वास्तविक भार वहन क्षमता सुनिश्चित गरिन्छ।
हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन बनाउने र स्टिल केज तयार गर्ने काम भइरहेको छ। यी केजहरू पछि फिल्डमा लैजानेर पिलरमा जडान गरिनेछ।
पुलको डिजाइन अन्तर्राष्ट्रिय आईआरसी कोड अनुसार बनाइएको छ र यसको आयु कम्तीमा १०० वर्ष रहनेछ।
टेस्टिङ फेजमा श्रमिक संख्या कम भए पनि यो चरण सकिएपछि थप जनशक्ति परिचालन गरिने योजना छ।
योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि फाउन्डेसनको काम सक्ने लक्ष्य राखिएको छ।
टेस्ट पाइलको कामपछि परीक्षण अघि बढाइएको र चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङ पूरा गर्ने योजना रहेको छ।
पुलमा नदीतर्फ दुई र दायाँ–बायाँ गरी चार पिलर रहनेछन्। ओसेल उपकरण आएपछि नारायणघाटतर्फ पाइलिङ सुरु हुनेछ, एकातर्फको पाइलिङमा करिब दुई महिना लाग्नेछ। करिब एक हप्ताभित्र ओसेल आइपुग्ने अपेक्षा गरिएको छ।
नारायणघाटतर्फको काम सकेपछि गैँडाकोटतर्फ काम अघि बढाइनेछ। यस वर्ष फाउन्डेसन र केही सब–स्ट्रक्चर पूरा गर्ने लक्ष्य छ।
आइकोनिक केबल–स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायत आधुनिक संरचनात्मक प्रविधि समावेश हुनेछन्।
पुल निर्माणको लागत १ अर्ब ६८ करोड रुपैयाँ छ। सन् २०२३ मा सडक विभागले ठेक्का दिएको हो।
हालको पुलको समानान्तर निर्माण भइरहेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ।
विसं २०८० जेठ १९ मा ठेक्का सम्झौता भएपछि अन्तिम डिजाइन तयार भई प्रमाणीकरण प्राप्त गरेसँगै निर्माण कार्यले तीव्रता पाएको हो।