चिनियाँ कमर्सियल सवारी ब्रान्ड नाभिको अब नेपालमा प्रवेश गरेको छ।
चीनमा भ्यानदेखि माइक्रोबस र ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको नाभिकोका विद्युतीय सवारी नेपाली बजारमा आएका हुन्।
नाभिको ब्रान्ड चीनमा इटालियन ब्रान्ड इभेकोसँगको सहकार्यमा नान्जिङ अटोमोबाइल ग्रुपले विकास गरेको हो र हाल एसएआईसीसँगको साझेदारीमा सञ्चालन भइरहेको छ।
नाभिको चीनमा छुट्टै पहिचानसहित सञ्चालनमा छ। इभेकोका युरोप, चीन, अष्ट्रेलिया र ल्याटिन अमेरिकामा उत्पादन प्लान्ट छन्, र २०२५ मा इभेको भारतीय कम्पनी टाटा मोटर्सले खरिद गरेको हो।
चीनमा इभेकोले १९८० यता एसएआईसी मोटरसँग सहकार्य गर्दै सवारी उत्पादन गर्दै आएको छ।
यस संयुक्त उपक्रमअन्तर्गत लाइट र मिडियम कमर्सियल सवारी नाभिको ब्रान्डमा र ठूला ट्रक–बस एसएआईसी इभेको होङयान (SIH) ब्रान्डमा उत्पादन हुँदै आएका छन्।
नेपालमा नाभिकोका विद्युतीय सवारी हाइली एडभान्स्ड मोटर्स (ह्याम्स) प्रालिले आयात गरेको हो। ह्याम्स हालै नाभिकोको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ।
कम्पनीले ७ सिट क्षमताको फिडाटो मोडल र १४ तथा १६ सिट क्षमताका विद्युतीय माइक्रोबस नेपाल भित्र्याएको छ।
७ सिट फिडाटोमा १०० किलोवाट मोटर (पिक पावर) रहेको छ, तर यसको मूल्य सार्वजनिक गरिएको छैन।
पहिलो चरणमा ५ वटा फिडाटो नेपाल ल्याइएको हो।
इतिहास हेर्दा, १९८५ मा इभेको र नान्जिङ अटोमोबाइल ग्रुपबीच लाइट कमर्सियल सवारी उत्पादनका लागि टेक्नोलोजी ट्रान्सफर सम्झौता भएको थियो। १९९१ मा चीनमा टर्बोडेल्ली उत्पादन लाइन तयार भयो।
१९९६ मा इभेको र एनएसीको संयुक्त लगानीमा नाभिको ब्रान्ड स्थापना भयो। २००५ मा एसएआईसी, इभेको र चोङकिङ ट्रकबीच सहकार्य सम्झौता भयो।
२०१२ मा बजार विस्तारका लागि इभेको कमर्सियल भेहिकल सेल्स कम्पनी स्थापना गरियो। हाल नाभिको चीनमा स्वतन्त्र रूपमा सञ्चालनमा छ।
ह्याम्स यसअघि कावे अटो ब्रान्डका विद्युतीय माइक्रोबस ल्याएर देशका प्रमुख स्थानमा आफ्नो उपस्थिति बढाउँदै आएको छ।
चीनको जियाङसु ह्वाजी अटो इन्डस्ट्रीले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याब पिकअप र ९/१६ सिटका विद्युतीय मिनिबस ल्याउने योजना अनुसार हाल कावे माइक्रोबस बिक्रीमा छन्।
कम्पनीले बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
नाभिको थपिँदै जाँदा, ह्याम्सले सेल्स र सर्भिस नेटवर्क अझ विस्तार गर्ने योजना बनाएको छ।