मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माण भइरहेको चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको छ। मादी नदीमाथि बनिरहेको पुलको हाल ७४ प्रतिशत भौतिक प्रगति भइसकेको छ।
अब २६ प्रतिशत काम मात्र बाँकी रहेको र निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको आयोजना पक्षले जनाएको छ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुलको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप गरिएको छ।
पुल निर्माणका लागि २०७९ साउनमा ठेक्का सम्झौता भएको थियो। हाल पुलमा करिब ७० प्रतिशत वित्तीय प्रगति भएको छ।
३१५ मिटर लामो पुलमा छवटा स्पान रहनेछन्। फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम पूरा भइसकेको छ भने बीचका दुई स्पानमा कंक्रिट आर्क संरचनाको काम जारी छ।
भ्याटसहित १ अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो २३ मिटर चौडाइको मोनोलेथिक संरचनाको पुल नेपालकै पहिलो हुने बताइएको छ।
मुग्लिन–पोखरा सडकखण्डको पूर्वी भागमा ८८ प्रतिशत प्रगति भइसकेको छ।
कालोपत्रे सकिएको छ र अब अन्तिम चरणका काम बाँकी छन्। पुलको पहुँच सडक निर्माण भने सुरु गरिएको छ।
निर्माण कम्पनीका अनुसार असारको म्याद भए पनि वैशाखमै पुल सम्पन्न गर्ने तयारी गरिएको छ। हाल दैनिक करिब १५० कामदार परिचालन गरिएको छ।
पुलका दायाँ–बायाँ करिब ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी छ। केही स्थानमा घर तथा सरकारी भवन परेकाले मुआब्जा र संरचना हटाउने प्रक्रिया गर्नुपर्ने अवस्था छ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको यो पुल चार लेनको हुनेछ। हाल प्रयोगमा रहेको दुई लेनको पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।