कालिका रिङ रोड शिलान्यास

चितवनको कालिका नगरपालिकामा चक्रपथ (रिङ रोड) अन्तर्गत गैरीबारी–चापागौँडीदेखि शेरबास जाने सडकको शिलान्यास गरिएको छ।

कालिका वडा नं. ८ गैरीबारीमा कालोपत्रे सडक र पक्की नाला निर्माणको शिलान्यास नगर प्रमुख विनोद रेग्मीले आइतबार गरेका हुन्।

यो आयोजना कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा सुरु गरिएको हो। यसअन्तर्गत १ हजार ६ सय ५० मिटर कालोपत्रे सडक र २ हजार ६ सय ५० मिटर पक्की नाला निर्माण गरिनेछ।

नगर प्रमुख रेग्मीले विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए। सडक बनेपछि वैकल्पिक मार्ग उपलब्ध हुने, पर्यापर्यटन र कृषि उपजको ढुवानी सहज हुने तथा सवारी चाप कम भई नगरको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सडक र नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने र अन्य क्षेत्रमा पनि क्रमशः बाटाघाटो विस्तार हुँदै जाने उनको भनाइ छ।

यस आयोजनाका लागि नगरपालिकाबाट १ करोड ८० लाख र प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ गरी कुल ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ। ठेक्का जीएराम माता कंकालीनी जेभीले २ करोड ३ लाख ९० हजार रुपैयाँमा पाएको छ।

२०८२ मंसिर २५ गते ठेक्का सम्झौता भएको यो आयोजना २०८३ जेठ ३१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *