भारतीय विद्युतीय कार बजारले सेप्टेम्बर २०२६ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । उक्त महिनामा भारतभर ३५ हजार ४८ थान विद्युतीय कार दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनामा दर्ता भएका १७ हजार ९३२ युनिटको तुलनामा ९५.४ प्रतिशत बढी हो ।
त्यस्तै, अगस्ट २०२६ मा दर्ता भएका ३१ हजार ७६९ युनिटको तुलनामा सेप्टेम्बरमा ईभी दर्ता १०.३ प्रतिशतले बढेको छ । लगातारको मासिक तथा वार्षिक वृद्धिले भारतीय बजारमा विद्युतीय कारप्रतिको उपभोक्ता आकर्षण तीव्र रूपमा बढिरहेको संकेत गरेको छ ।
ब्रान्डगत रूपमा भने टाटा मोटर्सले भारतीय ईभी बजारमा आफ्नो वर्चस्व कायम राखेको छ । टाटाले सेप्टेम्बरमा मात्रै १४ हजार ७९२ युनिट विद्युतीय कार दर्ता गराउँदै ४२.२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अघिल्लो वर्षको तुलनामा टाटाको ईभी दर्ता १००.७ प्रतिशतले बढेको हो ।
दोस्रो स्थानमा महिन्द्रा रहेको छ । कम्पनीले ७ हजार ७८२ युनिट विद्युतीय कार दर्ता गराउँदै २२.२ प्रतिशत बजार हिस्सा हासिल गरेको छ । महिन्द्राको दर्ता अघिल्लो वर्षको तुलनामा ९५.९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, एमजी मोटर ५ हजार २४२ युनिट दर्तासहित १५ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानमा रहेको छ । भियतनामको भिनफास्ट भने २ हजार ९६४ युनिट विद्युतीय कार दर्ता गराउँदै चौथो स्थानमा उक्लिएको छ ।
भारतीय ईभी बजारमा अन्य प्रमुख ब्रान्डहरूको प्रदर्शन पनि उल्लेखनीय देखिएको छ । कियाले १ हजार २६३, मारुती सुजुकीले १ हजार १०४, बीवाईडीले ८३६, हुन्डाईले ७९२, टोयोटाले २१८ र सिट्रोनले ५५ युनिट विद्युतीय कार दर्ता गराएका छन् । विशेषगरी टाटा र महिन्द्राजस्ता स्थापित भारतीय कम्पनीको आक्रामक विस्तारसँगै एमजी तथा भिनफास्टजस्ता ब्रान्डको बढ्दो उपस्थिति भारतीय ईभी बजार थप प्रतिस्पर्धात्मक बन्दै गएको संकेत हो ।
नयाँ ब्रान्डको प्रवेश, विद्युतीय मोडलको बढ्दो विकल्प तथा उत्पादन क्षमता विस्तारले आगामी दिनमा भारतको ईभी बजार अझ तीव्र गतिमा विस्तार हुने देखिएको छ । भारतीय ब्रान्डका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध भएका कारण मागमा आएको यो तीव्र वृद्धिले नेपालको ईभी बजारलाई समेत प्रभाव पार्न सक्ने देखिन्छ ।