झापा ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको निरीक्षण गरेका छन्।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा काँकडभिट्टादेखि लविपुरसम्म ९५ किलोमिटर सडक एसियन मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ।
आयोजनाको समग्र प्रगति २५ प्रतिशत मात्र पुगेको छ।
मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको निर्माण प्रगति, समस्याहरू र समाधानका उपायहरूबारे सडक विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
काम अपेक्षित गतिमा नभएको देखिँदा मन्त्रीले जनशक्ति बढाएर काम तीव्र पार्न निर्देशन दिएका छन्।
सडक दुई खण्डमा निर्माण हुँदैछ: काँकडभिट्टादेखि केरखा–सितापुरीसम्म ४५ किलोमिटर खण्डको प्रगति २९ प्रतिशत र सितापुरीदेखि लविपुरसम्म ५० किलोमिटर खण्डको १३ प्रतिशत मात्र भएको छ।
सडकमा १३४ वटा कल्भर्ट, वन्यजन्तुमैत्री अण्डरपास, ७ सवारी अण्डरपास र ५ आकाशे पुल जस्ता संरचना निर्माण हुनेछन्।