गत शुक्रबारदेखि आइतबारसम्म परेको अविरल वर्षासँग आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकका चार गाउँपालिकामा सडक र विद्युत् सेवा ठप्प भएका छन्।
खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने मुख्य सडकहरू पहिरोले अवरुद्ध हुँदा आवतजावत रोकिएको छ।
विद्युत् अवरुद्ध भएपछि धेरै ग्रामीण क्षेत्रमा सञ्चार सेवा पनि बन्द भएको जनाइएको छ।
विशेषगरी महाभारत र खानीखोला गाउँपालिकातर्फका सबै सडक पूर्ण रूपमा बन्द छन्।
गाउँपालिकाका अध्यक्षहरूका अनुसार यी सडक पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ।
महाभारत गाउँपालिकामा अहिले सडक, बत्ती र सञ्चार सम्पर्क सबै टुटेको छ।
त्यहाँका बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाँडाखर्क र पिप्ले–भीमखोरी खण्ड सबै क्षतिग्रस्त भएका छन्।
खानीखोला गाउँपालिकाले मेसिनमार्फत सडक मर्मत सुरु गरेको छ, तर इन्धन आपूर्तिमा समस्या भएको जनाएको छ।
रोशी गाउँपालिकामा आंशिक रूपमा विद्युत् अवरुद्ध भएको र डाइभर्सन कटान भएपछि सडक जोड्न काम भइरहेको छ।
बेथानचोक गाउँपालिकामा पनि जनप्रतिनिधिहरू सक्रिय भएर सडक खुलाउने काममा लागेका छन्।
जिल्लाभर बाढीपहिरोका कारण दुई जनाको मृत्यु र पूर्वाधार तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको बताइएको छ।
Post Views: 197