बाढीपहिरोले सडक अवरुद्ध, वैकल्पिक रुट

अविरल वर्षासँग आएको बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक रुट प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रका यात्रुले अहिले फिदिम–म्याङ्लुङ–धनकुटा–धरान मार्ग प्रयोग गर्दै तराई र राजधानीतर्फ यात्रा गरिरहेका छन्।

मुख्य सडकका करिब एक दर्जन स्थानमा पहिरो खसेपछि यात्रुहरू लामो दूरी र बढी भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन्।

तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमबाट झापा, मोरङ, सुनसरीतर्फ जाने सवारीसाधन अहिले म्याङ्लुङ हुँदै सञ्चालनमा छन्।

सोमबार मात्रै यो रुटमार्फत करिब २०० सवारीसाधन आवतजावत भएको बताइएको छ।

सडकको चाप र यात्रुको असहजतालाई ध्यानमा राख्दै फेदाप गाउँपालिकाले कच्ची सडक मर्मत कार्य गरेको छ।

तेह्रथुम–धरान खण्ड सुरक्षित रहेको र यातायात सहजै चलिरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

यसैबीच, तमोर करिडोर र मेची राजमार्गका धेरै स्थानहरू अझै अवरुद्ध छन्, जसले पूर्वी पहाड र तराईबीचको आवागमनमा कठिनाइ बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *