जेनजी आन्दोलनका कारण प्रभावित उद्योग, व्यापार तथा प्रतिष्ठानहरूका समस्या सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले स्वागत गरेको छ।
नाडाले भनेको छ, यस्तो निर्णयले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई पुनर्जीवित गर्न तयार रहेको सन्देश दिएको छ।
नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको टोलीले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी आन्दोलनबाट प्रभावित अटोमोबाइल उद्योगलाई सहयोग माग गरेको थियो।
सरकारले त्यसलाई प्राथमिकता दिँदै राहत प्याकेज ल्याएपछि उद्योगी व्यवसायीहरूले आत्मबल पाएको नाडाले जनाएको छ।
यसले सरकार निजी क्षेत्रको आवाजलाई सम्मान मात्र होइन, तत्काल कार्यान्वयनमा जाने इच्छाशक्ति देखाएको पनि प्रमाणित गरेको छ।
अटोमोबाइल उद्योगले रोजगारी सिर्जना, कर–राजस्व र आपूर्ति श्रृंखलामा ठूलो योगदान दिएको भए पनि पछिल्ला अशान्तिले यसलाई गम्भीर असर पु¥याएको नाडाले उल्लेख गरेको छ।
शोरुम, गोदाम र गाडीमा क्षति, आपूर्ति अवरोध र ग्राहकको विश्वास घटेपछि राहत प्याकेज उद्योगीहरूका लागि ठूलो आधार बनेको हो।
सरकारले ल्याएका मुख्य प्रावधानमा अग्रिम बीमा भुक्तानी, बैंक कर्जामा सहजता, भन्सार छुट, कर सहुलियत, सहुलियत दरमा कर्जा, रोजगार सुरक्षित गर्ने पेरोल योजना लगायत १० वटा विशेष सुविधा समावेश छन्।
यी प्रावधानहरूले प्रभावित व्यवसायीलाई तत्काल राहत दिने र कर्मचारीको रोजगारी जोगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
नाडाले एलटीभी सहजता सबै सवारी साधनमा लागू गर्नुपर्ने, ईभी रोडम्याप, कस्टम्स सुधार र पूर्वाधार विस्तारमा दीर्घकालीन नीति आवश्यक रहेको आग्रह गरेको छ।
नाडाले भन्यो, सरकारले ल्याएको राहत प्याकेजले उद्योग र सरकारबीचको विश्वासलाई मजबुत बनाउनेछ, अटोमोबाइल क्षेत्रमा स्थिरता ल्याउनेछ र नेपाललाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने महत्वपूर्ण मोड बन्नेछ।
Post Views: 313