धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन।
सम्झौताअनुसार पुल चार वर्षअघि नै सकिनुपर्ने भए पनि हालसम्म अपुरो छ र यसले स्थानीयलाई ठूलो सास्ती दिएको छ।
२०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच १ करोड २१ लाख ८६ हजार रुपैयाँमा सम्झौता भएको थियो।
सम्झौताअनुसार २०७८ साउन ७ भित्र पुल निर्माण पूरा हुनुपर्ने भए पनि अहिले जम्मा ५० प्रतिशत मात्र बनेको छ।
धरान–५ का अध्यक्ष मनप्रसाद लिम्बूका अनुसार दुवैतर्फका पिलर त बने पनि अब बाँकी संरचना काम रोकिएको छ र झाडीले ढाकिएको छ।
पुल नबन्दा धरान–५ र ४ का बासिन्दा साथै धरान बजार जानेहरू प्रभावित छन्। बर्खामा खोला पार गर्न जोखिम मोलेर जानुपर्ने अवस्था छ।
बिरामीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालय पठाउन र कृषिजन्य वस्तु बजार पुर्याउन समस्या भइरहेको स्थानीयले बताएका छन्।
विद्यार्थीहरू बर्खामा घण्टौँ खोला किनारमै पर्खिनुपर्ने बाध्यता छ। कक्षा ६ भन्दा माथि पढ्न खोला पार गरेर धरान बजार पुग्नुपर्छ।
पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो छ। गत चैतमा जेठ मसान्तसम्म काम सक्ने सहमति भए पनि अहिले कम्पनी सम्पर्कमै छैन।
गत चैतमा प्रदेश मन्त्रीले स्थल निरीक्षण गर्दै ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको बताएका थिए। तर, कम्पनीले अदालतबाट स्टे अर्डर लिएपछि काम अघि बढ्न सकेको छैन।