पूर्वाधार विकास कार्यालय दोलखाअन्तर्गत चालू आर्थिक वर्षका लागि छुट्याइएको वार्षिक योजनाको काम धमाधम भइरहेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार हालसम्म करिब ९६ प्रतिशत योजनाको काम सकिएको छ ।
कार्यालयले ठेक्का तथा उपभोक्ता समितिमार्फत काम गर्नेगरी चालू वर्षमा एक सय २४ वटा योजना छनोट गरेको थियो ।
सोमध्ये हालसम्म ९६ प्रतिशत योजनाको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताए ।
कार्यालय प्रमुख ओझाका अनुसार कार्यालयका यहाँका ९ पालिकामा बहुवार्षिय सडक योजना–८ वटा, बहुवार्षिय पुल योजना–४ वटा, साना ठेक्का मार्फत ६४ वटा योजना र उपभोक्ता समिति मार्फत निर्माण हुने ६० वटा योजना रहेका थिए ।
बहुवर्षीय ८ वटा सडकमध्ये ४ वटा र ४ वटा पुलमा २ वटाको निर्माण सम्पन्न भईसकेको उनले बताए ।
साना ठेक्का मार्फत सञ्चालित ९० प्रतिशत योजनाको काम पनि सम्पन्न भएर भुक्तानीको चरणमा रहेकोे र उपभोक्ता समिति मार्फतका सबै योजनाको निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालयले चालू आर्थिक वर्ष सडक तथा पुल निर्माणका लागि १६ करोड ६१ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो ।
त्यसैगरी अन्य विभिन्न पूर्वाधार मर्मतको लागि दुई करोड १२ लाख, प्रादेशिक लोकमार्गको लागि ११ करोड ८७ लाख, प्रादेशिक मार्गको लागि २४ करोड ५४ लाख र सहरी तथा स्थानीय सडकको लागि १९ करोड ८५ लाख गरी ७४ करोड २९ लाख बजेट विनियोजन भएर आएको कार्यालयका लेखा अधिकृत छत्र कटुवालले बताए ।
उनका अनुसार वित्तीय प्रगति पनि ७० प्रतिशतभन्दा बढी रहेको छ ।