गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गर्दा सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइते अवस्थामा लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
प्रहरीले उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ ।