‘११ सय मिटर सुरुङ मार्ग अपूर्ण हो, दुर्घटनाको जोखिम यथावत्’

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका- ३ मा सिद्धबाबा सुरुङ मार्ग निर्माणाधीन छ ।

सुरुङ मार्गको मुख्य टनेलको गत १२ माघमा ब्रेक थ्रु भएको छ ।

दुवैतर्फको रिबसहित सुरुङ मार्गको कूल लम्बाइ १ हजार १२६ मिटर मात्रै हो । तर यो खण्डको करिब ३ किलोमिटर सडक दुर्घटनाको उच्च जोखिमयुक्त ठाउँ हो ।

मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७.२ मिटर छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक एवं दुर्घटना न्यूनीकरण समिति संयोजक नारायण घिमिरेले सिद्धबाबा खण्डको ३ किलोमिटर बढी क्षेत्र वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले हालको सुरुङ मार्ग दुर्घटना रोक्न अपूर्ण हुने बताए ।

घिमिरे सञ्चालक रहेको प्रालिमा नेपालकै धेरै करिब २ हजार ५०० बस व्यवसायी आवद्ध छन् ।

‘तल्लो सिद्धबाबा मन्दिरदेखि नै सुरुङ बनाउनुपर्थ्यो र अहिले बनाउन लागिएको सुरुङको अन्तिम बिन्दु रामापिथेकस पार्कभन्दा थप डेढ सय मिटर अगाडिसम्म बनाएको भए मात्रै सडक सुरक्षित सार्थक हुन्थ्यो,’ घिमिरेले भने, ‘बन्दै नबन्नु भन्दा त राम्रै मान्नुपर्छ तर यो अपूर्ण छ, यसले समाधान दिँदैन । सिद्धबाबा खण्डमा दुर्घटनाको जोखिम कायमै हुन्छ ।’

तिनाउ गाउँपालिका दोभानकै बासिन्दा एवं अधिवक्ता महेन्द्र पाण्डेयले लगानी र सुरक्षाका हिसाबले हाल बनिरहेको सुरुङ मार्गले पूर्ण समाधान नदिने बताए ।

‘अहिले बनिरहेको सुरुङको पूर्व र पश्चिम दुवैतर्फ जोखिमयुक्त क्षेत्र छन्, त्यहाँ पनि सुरुङ मार्ग बन्नुपर्थ्यो,’ पाण्डेयले भने, ‘यसले त सडक दुर्घटना र जोखिम अन्त्य गर्दै गर्दैन ।’

७ अर्ब ३४ करोड २१ लाख रूपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ ।

निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न हुनेछ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङ भित्रको भुईं र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायतका काम भइरहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

यस्तै, सिद्धबाबा क्षेत्रको सुरुङ बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा र  उत्तरतर्फ ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङ मार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।

योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

हालसम्म भौतिक प्रगति करिब ५५ प्रतिशत भएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।

इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।

आयोजनाअन्तर्गत २ हजार ३९८ मिटर सडक स्तरोन्नति हुनेछ भने ७८० मिटरमा रकसेड हुनेछ ।

आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

८ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ-चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७०० मिटर सडक क्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो ।

स्विस कन्सल्ट्यान्ट आईटीईसीओ-एएफ (इटिको-एएफ) ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गर्न सहयोग गरेको थियो ।

अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *