काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि…

काठमाडौँ महानगर प्रहरी बलले सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

नगर प्रहरीले दोलखा घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेतविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

बस्नेतलाई नगर प्रहरीले  कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

कोटेश्वर क्षेत्रको अइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा गत फागुन १५ गते दिउँसो ३ बजे तार चुँडालेर बल्ब खल्तीमा हाल्दै गर्दा बस्नेतलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

उनी विरुद्ध महानगरले मुलुकी अपराध संहिता २७४ को दफा २४१ (१) बमोजिम २ वर्षदेखि ७ वर्षसम्म कैद सजा वा २० हजार रुपैयाँ जरिवाना हुनुपर्ने मागसहित काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

बस्नेतले आफूलाई बल्ब राम्रो लागेपछि घरमा लागेर बाल्छु भनेर चोरी गरेको स्वीकार गरेका छन् ।

उनले प्रहरीसामु बयानमा भनेका छन्, ‘कोटेश्वरको एक खाजा घरमा रक्सी खाएर निस्किएर बालकुमारीको सडक पेटी हिँड्दै गर्दा सडकमा लाइट जडान गरिएको रहेछ ।

राम्रो लागेर घरमा लगी बाल्नुपर्‍यो भनी तार चुँडालेर खल्तीमा हाली जान लाग्दा महानगर प्रहरी बलका कर्मचारीले मलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *