मापदण्ड विपरीत संरचनाहरू हटाउने निर्देशन: काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइनआसपास क्षेत्रमा मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएको छ।
महानगरले सोमबार सूचना जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो।
विद्युत् प्रसारण लाइनआसपास भवन निर्माण गर्दा विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिम मापदण्ड पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै प्रसारण लाइनआसपासका भौतिक संरचना हटाउन महानगरले सूचनामार्फत भनेको हो।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्यालयको भवन, घर, टहरा, कक्षाकोठालगायत भौतिक संरचनाहरू देहायका मापदण्डभित्र पर्ने भएमा मापदण्डविपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक विद्यालय तथा घरधनी स्वयंले नै सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाई मापदण्ड पालना गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’
तोकिएको समयभित्र मापदण्डविपरीतका संरचनाहरू नहटाएमा कानुनअनुसार कारबाही हुने चेतावनी महानगरले दिएको छ।