मधेशमा २५३ वटा मोटरसाइकल चोरी

मधेशमा २५३ वटा मोटरसाइकल चोरी : मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा २५३ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये ४९ वटा मोटरसाइकल मात्र फेला परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मोटरसाइकल चोरी आरोपमा ७८ जना पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले मोटरसाइकल चोरीमा संलग्न भएकाविरुद्ध ५५ वटा मुद्दा दर्ता भएको बताए ।

प्रहरी तथ्यांकअनुसार मधेशमा सबैभन्दा बढी धनुषामा ९५ वटा मोटरसाइकल हराएकोमा १४ वटा फेला परेका छन् । १६ जनालाई पक्राउ गरेर नौजनामाथि मुद्दा दर्ता भएको छ ।

पर्सामा ८१ वटा मोटरसाइकल चोरी भएकामा १४ वटा फेला परेका छन् । १६ जनालाई पक्राउ गरेर नौजनामाथि मुद्दा दर्ता भएको सूचना अधिकारी बोहराले बताए ।

रौतहटमा १९ वटा चोरी भएकोमा तीनवटा मोटरसाइकल फेला परेका छन् । प्रहरीका अनुसार तीनजनामाथि मुद्दा दर्ता गरिएको छ ।

सर्लाहीमा १४ वटा मोटरसाइकल चोरी भएकामा चारवटा फेला परेका छन् । चोरीको आरोपमा पाँचजना पक्राउ भएका छन् ।

चारजनामाथि मुद्दा दर्ता भएको छ । बारामा १३ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये चारवटा फेला परेका छन् । ६ जना मोटरसाइकल चोर पक्राउ परेका छन् ।

पाँचजनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक बोहराले बताए ।

सिराहामा ११ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा फेला परेका छन् । चोरीको आरोपमा ६ जना पक्राउ भएका छन् । सप्तरीमा ११ वटा मोटरसाइकल चोरी भएकोमा पाँचवटा फेला परेका छन् ।

चोरी आरोपमा नौजना पक्राउ परेकामा पाँचजनामाथि मुद्दा दर्ता भएको छ । महोत्तरीमा नौवटा मोटरसाइकल चोरी भएका छन् ।

चोरी आरोपमा १७ जना पक्राउ परेका छन् । १३ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बोहराले बताए ।

मधेशमा गत आर्थिक वर्ष ०८०/८१ मा ७६९ मोटरसाइकल चोरी भएको थियो । हराएकामध्ये १८२ वटा मात्र फेला परेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मोटरसाइकल चोरी आरोपमा १८७ जना पक्राउ परेका थिए ।

१२६ जनामाथि मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक बोहराले बताए । उनका अनुसार गत आवमा सबैभन्दा बढी पर्साबाट ३२९ वटा मोटरसाइकल चोरी भएका थिए ।

धनुषामा १४७, सर्लाही १३५, रौतहट ५४, सप्तरी ४३, सिराहा २४, महोत्तरी १८ र बारामा १७ वटा मोटरसाइकल चोरी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *