उपत्यकामा बढ्यो वायु प्रदूषण: जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यका वायु प्रदूषणको चपेटामा पर्न थालेको छ । प्रदूषणका कारण काठमाडौं उपत्यकाका तीन जिल्लाको हावा मानव स्वास्थ्यका लागि हानिकारक बनेको छ ।
केही दिनदेखि मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह बढिरहेको वातावरण विभाग वायु प्रदूषण अनुगमन कार्यालयले जनाएको छ ।
कार्यालयको एयर क्वालिटी इन्डेक्सअनुसार पछिल्ला दिनहरूमा उपत्यकामा प्रदूषण दर बढ्दो छ ।
वायु प्रदूषणसम्बन्धी गुणस्तरविद् डा. भूपेन्द्र दासका अनुसार बुधबार साँझ ६ बजे उपत्यका विश्वका पाँचौँ प्रदूषित सहरभित्र परेको छ ।
पहिलो स्थानमा बोस्निया हर्जगोभिनाको साराजेभो, दोस्रो कार्जस्थान अस्टाना, तेस्रोमा पाकिस्तानको लाहोर, चौथोमा भारतको नयाँदिल्ली र पाँचौँ नेपालको काठमाडौं थियो ।
त्यसको केहीबेर ६ः१५ मै काठमाडौं विश्वमा प्रदूषित सहरमध्ये चौथो स्थानमा परेको थियो ।
एयर क्वालिटी इन्डेक्स ५० भन्दामाथि पुगेमा खराब र अस्वस्थ मानिन्छ । एयर क्वालिटी इन्डेक्स सयभन्दा माथिलाई निकै जोखिमयुक्त मानिन्छ ।
तर, बुधबार साँझ उपत्यकाको एयर क्वालिटी इन्डेक्स १५९ मा पुगेको थियो । गुणस्तरविद् डा. भूपेन्द्र दासले बिहान–बेलुकी बाहिर निस्कँदा निकै ख्याल गर्नुपर्ने अवस्था आएको बताए ।
‘बुधबार बिहान र बेलुकीको हावा निकै अवस्थकर थियो, यस्तो अवस्थामा मर्निङ वाक गर्न निकै ध्यान दिनुपर्छ,’ दासले भने, ‘बाहिर हिँड्दा निकै ख्याल गर्नुपर्छ ।
आगो तथा धुवाँ आउने चिज बाल्नु हुँदैन ।’ उनले प्रदूषण निम्त्याउने क्रियाकलापमा निकै ध्यान दिनुपर्ने बताए ।