नेपालको ऐतिहासिक सहभागिता: FIA Esports प्रशिक्षण सिंगापुरमा: नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशियाप्यासिफिक स्तरीय FIA Esports Cluster Training मा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अंकित भण्डारीले यस ट्रेनिङ्गमा नेपाललाई प्रतिनिधित्व गरे।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA), मोटरस्पोर्ट्स अष्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित यो कार्यक्रम एशिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए। यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदान प्रदान र एशिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रीत प्रशिक्षण प्रदान गरियो।
कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेविड मोरी र शुभ अग्रवाल थिए भने FIA ई–स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, FIA एशिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, FIA ई–स्पोर्ट्स कमिसनका निरोशन परेरा र मोटर स्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटर स्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गर्यो।
नेपालको सहभागिताले मोटरस्पोर्ट्सको नयाँ विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
Visit homepage : eautonepal.com