महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिंकर सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा सेनाले सात सय २० मिटर सडक निर्माण गरेको छ ।
साउनदेखि पुस मसान्तसम्मको अवधिमा सात सय २० मिटर लामो सडकको नयाँ ट्रयाक निर्माण र चार सय ८० मिटर सडकको स्तरोन्नति गरिएको सेनाले जनाएको छ ।
कुल ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएको सेनाले गत वर्षसम्म साढे १० किलोमिटर सडकको ट्रयाक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नति गर्ने कार्य गरेको थियो ।
ब्याँस गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत तुसारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ ।
चालू आर्थिक वर्षमा तीन किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई किलोमिटर स्तरोन्नति गर्ने सेनाको लक्ष्य छ ।
सेनाले फतङगाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङती र तम्बाकुमा सडक निर्माणको काम भइरहेको दार्चुला–तिंकर सडक आयोजनाका प्रमुख एवं प्रमुख सेनानी शिवकुमार केसीले बताए ।
‘वैशाखसम्ममा मालगाउँमा गाडी पुर्याउने लक्ष्यसहित काम भइरहेको छ,’ उनले भने ।
फतङगाड क्षेत्रमा दुईवटा तथा दुम्लिङ र कोठधारमा एक–एकवटा स्काइभेटर मेसिन सडक निर्माणमा प्रयोग भइरहेका छन् ।
श्रमिक टोली खटिएका नौवटै स्थानमा चट्टान फुटाउन जिलेटिन प्रयोग भइरहेको र कम्प्रेसर मेसिन सबै ठाउँमा पुर्याएको छ ।
सरकारले दार्चुला–तिंकर सडक निर्माणका लागि चालू आर्थिक वर्षमा १४ करोड १९ लाख २० हजार बजेट विनियोजन गरेको छ ।
सेनाले ६ महिनाको अवधिमा विनियोजित बजेटको २१ दशमलव ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।
नेपाली सेनाले दार्चुला–तिंकर सडक निर्माणका लागि ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा आयोजना कार्यालय र वडा नम्बर २ को दुम्लिङ र थी क्षेत्रमा सैनिक क्याम्प राखेको छ ।
सडक निर्माण भइरहेको क्षेत्रमा जिलेटिनसहित निर्माण सामग्रीको व्यवस्थापनका साथै प्राविधिक अनुगमनको कार्य पनि सैनिक क्याम्पबाट भइरहेको छ ।
दुम्लिङबाट सदरमुकाम खलंगा तथा गाउँपालिका र वडाका अन्य बस्तीसम्म आवतजावत गर्न महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता रहिआएको छ ।
तुइनको बाध्यता हटाउन सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।