दार्चुला–तिंकर सडकको चर्चा धेरै, काम भने छैन

धेरै महत्वपूर्ण मानिएको महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिंकर सडकको चर्चा धेरै हुन्छ ।

तर, चर्चाअनुसारको काम भने छैन । १५ वर्षअघि सुरु भएको दार्चुला–तिंकर सडक महाकाली करिडोरमा गाभिएपछि यसको निर्माण गति झनै सुस्त भएको छ ।

हाल कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर नाका हुँदै तिब्बत जोड्ने योजनाअनुसार करिडोर नामकरण गरिएको छ ।

कुल चार सय १३ किमि सडकमध्ये एक सय ६० किमिको ट्रयाक नै खोलिएको छैन ।

नेपाली सेनाले तुसरपानीदेखि माथिल्लो क्षेत्रमा तीन वर्षदेखि काम थालेको छ । तर, बजेट अभावमा सडकले पूर्णता पाउन सकेको छैन ।

‘हामीले यो सडक (दार्चुला–तिंकर) करिडोरमा होइन, छुट्टै चाहेका छौँ,’ एकीकृत समाजवादीका दार्चुला इन्चार्ज गणेशकुमार जोशी भन्छन्, ‘सामरिक रणनीतिक महत्व बोकेको सडकलाई सरकारले प्राथमिकता नदिँदा ओझेलमा परेको छ ।’

दार्चुला–तिंकर सडकलाई करिडोरमा गाभ्दा तिंकर सडकले गति लिन नसकेको भन्दै समाजवादीका जिल्ला इन्चार्ज जोशीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाए ।

‘०६५ बाट सुरु भएको दार्चुला–तिंकर सडकले अझै गति नलिएको अवस्थामा करिडोरको नाममा दार्चुला तिंकर सडक ओझेलमा पर्‍यो,’ जोशी भन्छन्, ‘अब करिडोरबाट खलंगा–तिंकर सडक छुट्टै नामकरण गरी पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।’

भारत र चीनको सीमासम्म पुग्ने यो सडकमा बर्सेनि बजेट घटेर आउँदा ब्याँसको तिंकरसम्म सडक पुग्ने सपना तत्काल पूरा हुने देखिँदैन ।

सुदूरपश्चिमको आर्थिक नाका, धार्मिक तथा पर्यटकीय महत्वका साथै कैलाश मानसरोवर जाने छोटो मार्ग पनि हो यो सडक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *