उपत्यकामा पछिल्लोपटक मेलम्चीको पानी वितरण हुन थालेको २२ दिन भयो । योसँगै खानेपानी अभाव झेलिरहेका उपत्यकावासीमा केही राहत मिलेको छ ।
तर, पानी वितरण सुरु भएसँगै विभिन्न ठाउँमा चुहावट भएर सडक हिलाम्मे भइरहेका छन् ।
१३० ठाउँमा चुहावटको समस्या देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो ।
‘विशेष गरी पुरानै वितरण सञ्जालका पाइबाट धेरै चुहावट देखिएको छ,’ कार्कीले भने, ‘चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिइरहेको छ ।’
पाँच सयभन्दा धेरै ठाउँमा देखिएको चुहावट व्यवस्थापन गर्दै केयुकेयलले हाल एक सय ३० मा झारेको जनाएको छ ।
अहिले मेलम्चीको १७ करोड लिटरमध्ये साढे दुई करोड लिटर पानी नयाँ वितरण सञ्जालमा परीक्षणका लागि प्रयोग भइरहेको छ भने बाँकी उपभोक्तालाई वितरण भइरहेको छ ।
हाल उपत्यकाका साढे दुई लाख धारामा मेलम्चीको पानी पुगिसकेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक हजार १० किलोमिटरमध्ये हाल पाँच सय किलोमिटर नयाँ वितरण लाइनको मात्र परीक्षण भएको छ ।
बाँकी वितरण लाइनमा मेलम्चीको पानी आएसँगै परीक्षण भइरहेको छ ।
Post Views: 328