मेलम्चीको पानी १३० ठाउँमा चुहावट

उपत्यकामा पछिल्लोपटक मेलम्चीको पानी वितरण हुन थालेको २२ दिन भयो । योसँगै खानेपानी अभाव झेलिरहेका उपत्यकावासीमा केही राहत मिलेको छ ।

तर, पानी वितरण सुरु भएसँगै विभिन्न ठाउँमा चुहावट भएर सडक हिलाम्मे भइरहेका छन् ।

१३० ठाउँमा चुहावटको समस्या देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो ।

‘विशेष गरी पुरानै वितरण सञ्जालका पाइबाट धेरै चुहावट देखिएको छ,’ कार्कीले भने, ‘चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिइरहेको छ ।’

पाँच सयभन्दा धेरै ठाउँमा देखिएको चुहावट व्यवस्थापन गर्दै केयुकेयलले हाल एक सय ३० मा झारेको जनाएको छ ।

अहिले मेलम्चीको १७ करोड लिटरमध्ये साढे दुई करोड लिटर पानी नयाँ वितरण सञ्जालमा परीक्षणका लागि प्रयोग भइरहेको छ भने बाँकी उपभोक्तालाई वितरण भइरहेको छ ।

हाल उपत्यकाका साढे दुई लाख धारामा मेलम्चीको पानी पुगिसकेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक हजार १० किलोमिटरमध्ये हाल पाँच सय किलोमिटर नयाँ वितरण लाइनको मात्र परीक्षण भएको छ ।

बाँकी वितरण लाइनमा मेलम्चीको पानी आएसँगै परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *