खाँदबारी-किमाथांका सडक तीन दिनपछि सञ्चालनमा

संखुवासभाको सदरमुकाम खाँदबारी-किमाथांका सडकखण्ड अन्तर्गत उत्तर–दक्षिण कोशी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ।

सोमबार करिब ४ बजेदेखि सडक खुलेको उत्तरदक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलले जानकारी दिए।

मकालु गाउँपालिका–३ हेदाङ्नाको नयाँबस्तीमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि शनिबार बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको थियो।

शनिबारदेखि नै सुक्खा पहिरो हटाउन सुरु गरिए पनि सोमबार अपराह्न मात्रै पहिरो हटाइसकेको सूचना अधिकारी जिरेलले बताए।

उक्त क्षेत्रमा निर्माण कम्पनी अरुण-बरुण निर्माण सेवा र जे एन्ड डब्लु जेभीले फ्याक्सिन्दा पुल र नयाँबस्ती तलमाथि दुवैतिरबाट दुईवटा स्काभेटरले पहिरो हटाउने काम गरेपछि तीन दिनपछि सडक खुलेको हो।

सडकमाथिबाट ठूलो पहिरो खसेकाले दुई दिनसम्म एकातर्फी सडकसमेत  खुलाउन सकिएको थिएन।

पहिरोका कारण सडक अवरुद्ध भएपछि खाँदबारी र भोटखोलाको आवातजावात बन्द भएको थियो।

खाँदबारीबाट किमाथांका–भोटखोला जाने र भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने गाडी र यात्रु तीन दिन समस्यामा परेका थिए।

शनिबार सडकमाथिबाट सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुनाका साथै स्काभेटरका सहचालक रामेछाप जिल्लाका सबिन केसी घाइते भएका थिए।

खाँदबारी—गोला सडकखण्डअन्तर्गत सो क्षेत्र निकै अप्ठ्यारो र संवेदनशील क्षेत्र हो।

सो क्षेत्रमा सडक स्तरोन्नति र सडक ढलान गर्ने काम अरुण-बरुण निर्माण सेवा र जे एन्ड डब्लु जेभीले गरिरहेको छ।

उक्त नयाँबस्ती क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण वेला–वेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *