काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो भेन्यु र भेन्यु एन लाइनमा नयाँ सुरक्षा प्रविधि थपेको छ। ‘हुन्डाई ब्लुलिंक रिमोट इमोबिलाइजर’ नाम दिइएको यो फिचरमार्फत स्मार्टफोन प्रयोग गरेर टाढैबाटै गाडीको इन्जिन पुनः स्टार्ट हुन नदिने व्यवस्था गर्न सकिन्छ।
यस प्रविधिको उद्देश्य विशेषगरी सवारी चोरीको सम्भावना कम गर्नु रहेको कम्पनीले जनाएको छ।
यसका लागि प्रयोगकर्ताले हुन्डाई ब्लुलिंक मोबाइल एप प्रयोग गर्नुपर्ने हुन्छ। गाडी पार्क गरिसकेपछि एपबाट रिमोट इमोबिलाइजर अन गरेपछि गाडीका केही प्रणाली निष्क्रिय हुन्छन्। त्यसपछि अनुमति नपाएको अवस्थामा गाडी पुनः स्टार्ट गर्न सम्भव हुँदैन।
तर गाडी चलाइरहेको अवस्थामा भने यो फिचरले इन्जिनलाई अचानक बन्द गर्दैन। अर्थात् ड्राइभिङका क्रममा रिमोट इमोबिलाइजर एक्टिभ गरिए पनि गाडी तत्काल रोकिने छैन। गाडी बन्द भएपछि मात्र इमोबिलाइजरले काम गर्छ र एक्टिभ अवस्थामा पुनः स्टार्ट गर्न रोक लगाउँछ। त्यसैले गाडी चोरी भएको अवस्थामा यो फिचर उपयोगी हुने कम्पनीको भनाइ छ। ब्लुलिंक एपबाट गाडीको लोकेसन पत्ता लगाउने सुविधा पनि उपलब्ध छ।
हाल यो सुविधा रिमोट सीसीएनसी सिस्टम भएका भेन्यु एचएक्स१० र भेन्यु एन लाइन एन१० भेरियन्टमा दिइएको छ। नोभेम्बर २०२५ देखि बिक्री भएका यी भेरियन्टका गाडीधनीले वर्कशपमा गएर ओटीए अपडेटमार्फत रिमोट इमोबिलाइजर सुविधा थप्न सक्नेछन्।
त्यस्तै, सेप्टेम्बर २०२६ देखि सीसीएनसी सिस्टमसहित उत्पादन हुने भेन्यु एचएक्स१० र भेन्यु एन लाइन एन१० मा रिमोट इमोबिलाइजरलाई स्ट्यान्डर्ड फिचरकै रूपमा उपलब्ध गराउने हुन्डाई मोटर इन्डियाले जनाएको छ।