काठमाडौं । चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका बन्द भएपछि विद्युतीय सवारी आयात गर्ने व्यवसायीले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्। यही कारण मुस्ताङको कोरला नाकाबाट ईभी भित्रिने क्रम पछिल्लो समय तीव्र बनेको छ।
विशेषगरी नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुक गरेका ग्राहकलाई समयमै सवारी उपलब्ध गराउन व्यवसायीहरूले कोरला नाका प्रयोग गरेर चीनबाट गाडी ल्याइरहेका हुन्।
मुस्ताङ भन्सार कार्यालयको तथ्यांकअनुसार भदौ १० देखि २५ गतेसम्मको १५ दिनमा मात्रै कोरला नाका हुँदै ६४१ युनिट विद्युतीय सवारी नेपाल प्रवेश गरेका छन्।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार उक्त अवधिमा कोरला हुँदै आएका ४३४ कन्टेनर र ६४१ वटा ईभीको जाँचपास गरिएको छ।
कोरला हुँदै सवारी तथा कन्टेनर आउने क्रम अहिले पनि रोकिएको छैन। चुडालका अनुसार शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ वटा ईभीको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको थियो। जाँचपासलाई छिटो र सहज बनाउन कार्यालयले कर्मचारीसमेत थपेको उनले जानकारी दिए।
उनले रसुवागढी–केरुङ र तातोपानी दुवै नाका पूर्ण रूपमा बन्द भएपछि कोरलाबाट चिनियाँ सामानको आयात क्रमशः बढिरहेको बताए। भदौ १० देखि २५ गतेसम्मको तथ्यांकमा मात्रै ४३४ कन्टेनर र ६४१ ईभी भन्सार जाँचपास भएको र आयात निरन्तर रहेको उनको भनाइ छ।
अहिले चीनबाट सवारी आयात गर्ने व्यवसायीहरू कोरलाबाट गाडी ल्याउन केन्द्रित भएका छन्। बुकिङ गरेका ग्राहकलाई समेत उनीहरूले सवारी आयात प्रक्रियामा रहेको र छिट्टै डेलिभरी गर्ने जानकारी दिइरहेका छन्। तर भारत, थाइल्याण्डलगायत अन्य मुलुकबाट सवारी ल्याउने व्यवसायीहरूलाई भने नाका बन्दको प्रत्यक्ष समस्या परेको छैन।
कोरला नाका प्रयोग गरेर नेपाल भित्रिने चिनियाँ ईभीमा बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल र स्काइवेल लगायतका ब्राण्ड रहेका छन्।
ईभी तथा अन्य कन्टेनरको जाँचपासबाट पछिल्लो १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ। चुडालका अनुसार भदौ २२ गतेपछि दैनिक औसत करिब ३० करोड रुपैयाँ राजस्व संकलन भइरहेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट आएका कन्टेनर तथा विद्युतीय सवारीको भन्सार जाँचपासबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ।
यसअघि गत वर्ष बाढीपहिरोका कारण तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ गतेदेखि मुस्ताङ भन्सारलाई नियमित सञ्चालनमा ल्याएको थियो। गत वर्ष कोरला नाका हुँदै करिब ३ हजार विद्युतीय सवारी नेपाल ल्याइएको थियो। सोही अवधिमा मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।