चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा बिहीबार बिहान चाइनिज ब्राण्डको AION-Y इभी गाडीमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेन हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको गाडीमा एक्कासि आगो लागेको थियो ।
घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
दमकलको सहयोग लिएर प्रहरीले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
त्यसपछि भित्र निरीक्षण गर्दा नाम, थर र ठेगाना खुल्न नसकेका एक पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए ।
आगोले गाडीलाई समेत पूर्ण रूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान खुलाउने तथा आगलागी कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।